Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०३:२९

डिलासैनीमा मुटू जाँच सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर : झण्डै १ हजार जनाले लिए विशेषज्ञ सेवा

सम्बाददाता सम्बाददाता
आइतबार, फागुन २०, २०८०
डिलासैनीमा मुटू जाँच सम्बन्धि  नि:शुल्क स्वास्थ्य शिविर  : झण्डै १ हजार जनाले लिए विशेषज्ञ सेवा

बैतडीको डिलासैनीमा सञ्चालित नि:शुल्क मुटू जाँच सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

डिलासैनी गाउँपालिकाको आयोजना एवम् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरको प्राविधिक सहयोगमा गाउँपालिकाका विभिन्न ३ स्थानमा सञ्चालित ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको डिलासैनी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरका विशेषज्ञ चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरुको टोलिद्धारा गाउँपालिकाको वडा नम्बर २ स्थित समैजी माद्यमिक विद्यालय गन्नामा फागुन १७ गते, वडा नम्बर ७ स्थित शिक्षा केन्द्र अमर माद्यमिक विद्यालयमा १८ गते तथा गाउँपालिकाको वडा नम्बर ६स्थित डडिया आधारभूत स्वास्थ्य केन्द्रमा सनिबार (हिजो) ३ दिने मुटू जाँच सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरिएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम् जनस्वास्थ्य अधिकृत गणेश बहादुर खातीले जानकारी दिएका छन् ।  

स्वास्थ्य शाखा प्रमुख खातीका अनुसार ३ दिनसम्म सञ्चालित शिविरबाट विद्यार्थी तथा स्थानीय गरि झण्डै १ हजार जनाले विशेषज्ञ सेवा लिएका छन् । शिविरको पहिलो दिन समैजी माद्यमिक विद्यालय गन्नामा ३ सय ८३ जना विद्यार्थीले मुटू जाँच सम्बन्धि स्वास्थ्य शिविरमा भाग लिएकोमा

१६ जना विद्यार्थीमा मुटू सम्बन्धि समस्या देखिएको उल्लेख छ । 

यस्तै शिक्षा केन्द्र अमर माद्यमिक विद्यालय धामीगाउँमा २ सय ८८ भन्दा बढि विद्यार्थीको स्वास्थ्य सेवा लिएकोमा ५ जना विद्यार्थीमा मुटू सम्बन्धि समस्या देखिएको छ भने वडा नम्बर ६ स्थित डडिया आधारभूत स्वास्थ्य केन्द्रमा हिजो २ सय ५२ जना भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएको र २ जनामा मुटू सम्बन्धि समस्या देखा परेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरका प्राध्यापक डाक्टर रत्नमणी गजुरेलले बताए । 

प्राध्यापक डाक्टर गजुरेलका अनुसार मुटू जाँच सम्बन्धि स्वास्थ्य शिविरका माद्यमबाट मुटू सम्बन्धि समस्या देखिएकाहरु मध्ये केहीको ओषधौपचारबाट समस्याको निदान गर्न सकिने तथा केहीको शल्यक्रिया गर्नुपर्ने देखिएको र उनीहरुलाई आवस्यक परामर्श दिइएको उल्लेख गरेका छन् । उनले शिविरलाई सम्पन्न गर्न सहकार्य एवम् सेवा गर्ने अवसर दिएको भन्दै डिलासैनी गाउँपालिकाप्रति हार्दिकता व्यक्त गरे ।

यसैबिच डिलासैनी गाउँपालिकाले हिजो एक समारोहका बिच ३ दिने निशुल्क स्वास्थ्य शिविरलाई सफलतापूर्वक सम्पन्न गरेकोमा विशेषज्ञ चिकित्सक सहितको टोलिलाई फेरी भटौला कार्यक्रमको आयोजना गर्दै कदर पत्र एवम् मायाको चिनो प्रदान गरेको छ । 

फेरी भेटौला समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेन्टरबाट आएका विशेषज्ञ सहितको टोलिलाई दुर्गम ठाउँमा आएर स्वास्थ्य सेवा दिएकोमा आभार व्यक्त गरे । उनले भने,  "हामी आगामी दिनमा समेत यस संस्थासित स्वास्थ्य सेवासंग सम्बन्धित अध्ययन तथा नागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्न चाहन्छौ । "

प्रतिक्रिया