Wide Nepal News आइतबार २३, बैशाख २०८१ ०१:३४

सुदूरपश्चिममा प्रदेश गौरवका सडक लथालिङ्ग, यस्तो छ जिल्लागत प्रगति

सम्बाददाता सम्बाददाता
शुक्रबार, माघ १९, २०८०
सुदूरपश्चिममा प्रदेश गौरवका सडक लथालिङ्ग, यस्तो छ जिल्लागत प्रगति

सुदूरपश्चिममा ९ वटा सडकलाई प्रदेश गौरवका सडकको रुपमा नामाकरण गरिएको छ।

तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले ९ वटा सडकलाई प्रदेश गौरवका सडकको रुपमा नामाकरण गरेर बजेट विनियोजन गरेको हो। प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले २०७५ फागुन १ गते प्रदेशका ९ वटा सडकलाई प्रादेशिक गौरवका सडकको रुपमा विकास गर्ने निर्णय गरेको थियो।

पहिलो प्रदेश सरकारको कार्यकाल सकिएर दोस्रो कार्यालय सुरु भएको एक वर्ष वित्नै लाग्दा समेत ती सडकको अवस्था लथालिङ छ। प्रदेश गौरवका सडक निर्माण कार्य सुरु भएको पाँच वर्ष वितिसक्दा पनि प्रभावकारी रुपमा अझै काम हुन सकेको छैन्।

२०८० असार मसान्तसम्मको प्रगति हेर्ने हो भने ६५ किलोमिटर लम्बाईको खप्तड–मार्तडी सडक (सिङ्गडा–जय बागेश्वरी गैरीखाँद डोगडी आटीचौर–मार्तडी) बाजुरा सडकको प्रगति केबल ५ किलोमिटर मात्र देखिएको छ। ९० किलोमिटर लामो खप्तड–मार्तडी सडक (सिङ्गडा–जय बागेश्वरी गैरीखाँद डोगडी आटीचौर–मार्तडी सडकको प्रगति पाँच दशमलव पाँच किमी, दुई सय तीन किलोमिटर लामो चिसापानी–ऋषिदह–वडिमालिका सडकमा २३ किलोमिटर पक्की, ३७ किलोमिटर स्तरोन्नती र बाँकी निर्माणाधीन अवस्थामै देखिएको छ।

१६८ किलोमिटर लामो दैजी–पोखरा–ढुङ्गाड–बझाङ सडकको प्रगति केलब ११ किलोमिटर मात्र देखिएको छ। ९३ किलोमिटर लामो खलङ्गा–खार–देथला–पारीबगर–खण्डेश्वरी सडकको प्रगति ६ किलोमिटर, ९५ किलोमिटर लामो दिपायल–साईपाल सडकमध्ये २४ किलोमिटर स्तरोन्नती र बाँकी निर्माणाधीन अवस्थामै छ।

त्यस्तै २ सय ५ किलोमिटर लामो सहजपुर–बोक्टान–दिपायल सडकको प्रगति ९ दशमलव पाँच किलोमिटर, ४६ दशमलव ९३ किलोमिटर लामो बेलौरी–कलुवापुर–नाइल–बुडर सडकको प्रगति २२ किलोमिटर र ६० किलोमिटर लामो भजनी–छोटी भन्सार खेमडी ठुलीगाड सडकको प्रगति तीन दशमलव ५ किलोमिटर मात्र देखिएको छ। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कुल एक हजार २५ दशमलव ९३ किलोमिटर सडक निर्माण र कालोपत्र गर्न भन्दै प्रदेश गौरवका सडक नामाकरण गरिएको भए पनि अहिलेकै अवस्थामा ती सडक निर्माण हुन कयौँ वर्ष लाग्ने देखिन्छ।

प्रतिक्रिया